४२ दिनमै सकियो ‘प्रकाश’ को सुटिङ्

चलचित्र ‘प्रकाश’ को सम्पूर्ण छायांकन सकिएको छ । अभिनेता प्रदीप खड्काको मुख्य भूमिका रहेको चलचित्रको सम्पूर्ण छायांकन जुम्लामा गरिएको हो । चलचित्रको निर्माण टिम सम्पूर्ण छायांकन सकेर जुम्लाबाट काठमाडौँ फर्किएको छ । छायांकन सुरु भएको ४२ दिनमा चलचित्रको छायांकन सकिएको निर्देशक दिनेश राउतले जानकारी दिएका छन् ।फिल्ममा प्रदीपको अपोजिटमा रेनु योगी छिन् । रेनुले यही फिल्मबाट अभिनेत्रीको रुपमा डेब्यू गर्न लागेकी हुन् । स्नातक गरिरहेकी उनी थिएटर आर्टिस्ट हुन् । उनले सन् २०१३ मा दयाहाङ राईसँग ‘मितज्यू’ नामक नाटक खेलेकी थिइन् ।

फिल्ममा दीया मास्के, प्रकाश घिमिरे, राजन खतिवडा, रामबाबु रेग्मी, निरज पन्थी (आँपे), हुम विसी, प्रशान्त श्रेष्ठ, गोविन्द सुनवार, दीपेन्द्र शाही लगायतका कलाकारको पनि अभिनय रहेको छ । निम्न वर्गीय परिवारमा हुर्किएको एक युवकले सरकारी स्कूलको शिक्षक बन्न गर्ने संघर्षको कथामा  बनेको फिल्ममा प्रदीपले पहिलो पटक गाउँले युवकको भूमिका निर्वाह गरेका छन् । प्रदीपले ‘प्रकाश’ मा आफूले नयाँ चुनौतीहरु स्वीकार गर्दै आफ्नो कम्फर्ट जोनबाट बाहिर निस्किएको बताएका छन् ।

‘विनिश इन्टरटेनमेन्ट’ को ब्यानरमा बनेको फिल्मका निर्माता महेन्द्र अधिकारी हुन् । फिल्ममा  विकास सुवेदीको  कथा अनुप बरालको कास्टिङ डाइरेक्सन् तारा प्रकाश लिम्बु, एलिसा कार्की, दीपक शर्माको संगीत र राजेश श्रेष्ठको छायांकन रहेको छ ।

सरकारले कोरोनाको जोखिम बढेको भन्दै बैशाख १६ गतेबाट निषेधाज्ञा घोषणा गरेपछि धेरै चलचित्रका सुटिङहरु  प्रभावित भईरहेका छन् । राजधानीभन्दा बाहिर छायांकन भइरहेका फिल्महरुको पनि अधुरैमा सुटिङ रोकेर निर्माण टिम काठमाडौं फर्किनु परेको छ । तर ‘प्रकाश’ फिल्मले भने निषेधाज्ञा लागु हुनु अगाबै आफ्नो सम्पूर्ण छायांकन सकेर राजधानी फर्किएको हो ।

Facebook Comments

यो पनि हेर्नुहोस