वर्तमानमा मारिएका नेपाली गीतसंगीतको इतिहास

निकट भविष्यमा कसरी सामना गर्छ ?

इतिहास हरेक चिजले बोकेको हुन्छ । इतिहास यस्तो चिजको भण्डार हो, जहाँबाट हामीले पुराना गल्तीलाई सुधार्ने मौका पाउछौ तर विडम्बनाको कुरा यहाँ त ठिक यसको विपरित हुन पुग्यो । कुरा गरौ नेपाली गीत संगीतको । नेपाली गीतसंगीतले पनि ठुलो इतिहास बोकेको छ । तर वर्तमान समयमा गीतलाई चर्चामा तथा ट्रेन्डिङमा ल्याउनकै निमित्त पुराना लोक संस्कृतिलाई तोडफोड गर्ने काम भइरहेका छन् ।

नेपाली गीतसंगीतको इतिहास:

नेपालमा गीतसंगीतको सुरुवात पाँचौ शताब्दीभन्दा अगाडी नै भएको कुरा कताकतै सुन्नमा आएको छ । खास गरी गण्डकी क्षेत्रको गुरुङ, मगरलगायतका समुदायको सोरठी, घाँटुजस्ता परम्परागत गीतिनाट्यले नेपाली गीतसंगीतको इतिहासलाई समेट्न पुग्छ । त्यस्तै गरी झामरे गायन पूर्वी र पश्चिमीक्षेत्रमा निकै लोकप्रिय छ । झामरे गायन मुख्यतः मगर, गुरुङ, राई, लिम्बु, तामाङ, ब्राह्मण, क्षेत्री तथा दलित समुदायमा गाइने गरिन्छ । खासगरी यी गायनहरु मेला, चाडपर्वको अवसर पारेर गाइने गरिएको पाइन्छ ।

जातीय र सांस्कृतिक हिसाबले पनि गीतसंगीतले आफ्नै मौलिकता बोकेको छ । किसानले गाउने असारे भाकाले पनि छुटै इतिहास बोकेको छ । उसो त नेपालमा गाइने झ्याउरे तथा असारेभाका कृषि जीवनसँग सम्बन्धित छ । त्यस्तै भगवानको आस्थामा गाइने भजनकृतन पनि हाम्रा गीतसंगीतको इतिहास हो ।

त्यस्तै गरी नेपाल-अंग्रेज युद्ध तथा दोश्रो विश्वयुद्धपश्चात् नेपाली गोर्खे जवानहरुले फौजी जीवनलाई समेटेर झ्याउरे भाकालाई नयाँ स्वरुपमा रुपान्तरण गरेका थिए । यसैको असरले १९औं शताब्दीको सुरुवातदेखि अहिलेसम्म झ्याउरे भाकालाई नयाँ रुप दिदै आइरहेका छौ । यस्तैगरी गीतसंगीतको यात्रालाई गण्डकी क्षेत्रका समुदायले नयाँ परिभाषा दिने प्रयास गरे । यसपछि ‘सालैजो’ भाकाको लोकप्रियता बढ्दै गयो ।

२००७ सालमा रेडियो नेपालको स्थापनासँगै नेपाली गीतिसंग्रहले पनि नयाँ मोड लिन पुग्यो । सञ्चारको विकाशसँगै नेपाली गीतसंगीतले पनि आधुनिकतातर्फ फड्को मार्ने प्रयास गर्यो । यहि आधुनिकताबादले मा.रत्नदास, हरिप्रसाद रिमाल, नातीकाजी, जनार्दन सम, कलानाथ अधिकारी, शिवशंकर, रानुदेवी, कोइलीदेवी, कृष्णमान लगायतका कलाकारहरुको जन्म भयो । यसैसँगै नेपाली गीतिक्षेत्रमा नयाँनया परिवर्तन हुँदै अहिलेको अवस्थासम्म आइपुगेको छ । वर्तमान समयमा लोक दोहोरी, सालैजो, आधुनिक, पप, र्यापलगायतका नयाँ भाकाहरुले ठाउँ ओगटीरहेका छन् ।

नेपाली गीतिक्षेत्रका केही सर्जकहरु :

  • मा.रत्नदास
  • हरिप्रसाद रिमाल
  • नातीकाजी
  • कोइलीदेवी
  • तारादेवी
  • स्वर सम्राट नारायण गोपाल
  • गोपाल योञ्जन
  • अम्बर गुरुङ
  • लेकाली समूह
  • नारायण रायमाझी

सर्जक ती हुन् जो पछिल्लो पुस्ताको लागि गोरेटो कोरेर जान्छन् ।

नेपालका केही लोक बाजाहरु:

  • मादल
  • सारङगी
  • टुङ्ना
  • डम्फू
  • मुर्चुङ्गा
  • बाँसुरी
  • नागडा
  • उर्नी
  • पूजा म्वालिङ
  • दमाहा

बाजाहरू बजाउनका लागि मात्र होईन, आफ्ना भावनाहरू व्यक्त गर्नका लागि पनि प्रयोग गरिन्छ।  बाजामा हामी हाम्रो जीवनलाई बिसाउने गर्छौ, बाजा थकान मार्ने चौतारो हो ।

नेपाली मौलिक भाकाहरु/तालहरु :

  • झामरे (झ्याउरे)
  • असारेभाका
  • सालैजो
  • दोहोरी
  • देउडा
  • मारुनी
  • रोइला
  • बालौरी
  • मालसिरी
  • मागल

भाकाहरु भाव बोल्छन् । समाज चित्रण गर्छन् । मौलिकता व्यक्त गर्छन् ।

नेपालका लोक नृत्य :

  • मारुनी नाच
  • झ्याउरे नाच
  • घाटु नाच
  • लाखे नाच
  • बालुन नाच
  • धान नाच
  • शिवताण्डव नाच
  • कौडाह नाच
  • चण्डी नाच
  • चुड्का नाच

नृत्य मनोरञ्जन मात्र होईन यसले ठाउँ बोल्छ, समाज बोल्छ । याे समाज तथा भूगोलको परिचय पनि हो ।

वर्तमानमा मारिएका नेपाली गीतसंगीत :

वर्तमानबाट इतिहासलाई पल्टाएर हेर्दा अहिलेको समयमा नेपालीपन बोकेका गीतहरु कमै मात्रामा बन्ने गरेको पाइन्छ । यसरी बनेका गीतहरु दर्शक नपाएर निराशापन बोक्न बाध्य छन् । यसरी नै गीतसंगीतमा मौलिकपन हराउदै जाने हो भने गीतसंगीतले निकट भविष्यमामा कसरी सामना गर्छ ?

अहिलेको समयमा गीतलाई हिटसावित गराउनको निमित्त नेपाली लोक भाकहरुलाई तोड्नेमोड्ने काम गरिएको छ । लोक दोहोरीमा र्यापलाई जोडेर गीतको भावलाई मार्ने काम भइरहेको छ । त्यस्तै छाडा तथा धेरै अर्थलाग्ने शब्द प्रयोग गरेर नेपालीको मौलिकपनलाई मारिएको छ ।

गीतलाई मनोरन्जनात्मक रुपमा परिभाषित गरिन्छ । गीत, गीतमात्र नभएर एउटा सिङ्गो राष्ट्रको पहिचान हो, यसले मौलिकता बोक्छ, परिवेश चिनाउँछ र समाज चित्रण गर्छ । गीत कुनै व्यक्ति वा कुनै वर्गको मात्र परिचय नभएर एउटा ठुलो इतिहास हो । र यस्ता गौरव गर्न लायक इतिहासहरुलाई लोप हुन दिनुहुन्न ।

Facebook Comments

यो पनि हेर्नुहोस