मलाई कसैले देखोस् नदेखोस्, देख्नुपर्नेले देख्दै छ : नवराज पराजुली

म एक्लै एक्लो छैन, म जस्तै अर्को एक्लै छ

दुइटा एक्लो सँगै हुनुको मज्जा पनि त बेग्लै छ

 

म एउटा किनारा हुँ । मजस्तै अर्को अर्कै किनारा । दुइटै किनारा एकै भै बग्नुको मज्जा झनै बेग्लै छ । सलल बगेको मेरो कहानी जस्ले लेख्यो, ऊ पनि त एक्लै होला । मलाई कसैले देखोस् नदेखोस्, देख्नुपर्नेले देख्दै छ । पृथ्वीको काखमा मलाई सुर्यले सुत्केरी सेक्दै छ । न्यानो अंगालोमा बेरी मलाई सङ्घर्षको कथा लेख्दै छ । मलाई हेर्ने नजरहरु जे देखोस् उसकालागि सत्य छ । म को हुँ उसलाई के थाहा म भित्र कसले वास बसेको छ । उसका दिमागले जे सोचोस्, आफुमा आफु हुनुको मज्जा बेग्लै छ । सलल बगेको नदीमा म नयाँ जीवन भेट्छु । नयाँ जीवनमा रङ्ग भर्दै, रङ्गीचंगी बगैंचा गोड्दै छु । सम्पति अथाह छन् मेरो, भएर आखिर के गर्नु ? जीवन भनेको यहि रैछ, बाँच्नु अनि मर्नु छ । हजारौले हेर्दै छन् तर देख्ने त मलाई एक रैछ ।

कोहि छैन अन्त मेरो, मै हुँ आफन्त मेरो

खालीको हुँ, खाली नै छु, खाली नै भरी छ मन त मेरो

पानी हुँ, माटो हुँ, आगोको बाटो हुँ

छैन कुनै मन धन त मेरो

म बिहे गर्छु आकाशसँग, हावा जानेछ जन्त मेरो

 

म आफै हुँ, आफैमा रहन्छु । म आफ्नै आफन्त हुँ, साथी हुँ, अभिभावक हुँ, म जे हुँ, म आफै हुँ । म खाली हुँ, खालीनै छु, खालीमै भरिपूर्ण छु । म हावा हुँ, हावामै जीवन देखेको छु । हावामै जीवन बाचेको मान्छे हावालाई नै देख्दैनन् । रोक्ने, छेक्ने प्रयास तिम्रो, आखिर व्यर्थ व्यर्थै नै भो । म पुग्ने गन्तव्य मै नै हुँ । मेरो यात्रापनि मै हुँ । एकैछिन् आउने वहावलाई किन दिऊ म, मेरा सुखदु:खको चाबी ? मेरो २४सै घण्टाको साथी २४ घण्टा मै हुँ । म समय हुँ, समयमै बद्लिदिन्छु । बदलिएपनि, भत्किएपनि म आफै म नै हुँ । हिउँसँगै पग्लिदिन्छु, पग्लिएपनि सक्किन म । संगीतको धुन वा मकैको घुन, पुर्णिमाको जुन वा टल्कने सुन, खेल हुँ वा बाढीको भेल, देह हुँ, योवन हुँ, माया र मोह, आत्मा हुँ, आखिर को हुँ म ? देखे त वरपर म नै छु, नदेख्नेलाई को हुँ ? किन दिऊ देउतालाई म, म त आफ्नै बाटोमा लगिदिन्छु । देउताले आफै सोधेभने आफैले आफै मागीदिन्छु ।

 

मलाई मै जागिर दिन्छु, मलाई मै तलब दिन्छु

मलाई म हुन लाई चाहिने जति सब दिन्छु

हरेक दिन अलग दिन्छु

पुग्या ठाउँमा लग्दिन्छु

आफैंलाई खर्चेर कमाको हुँ, आफैंमा खर्चेर सक्दिन्छु

 

मैले मलाई आफैले खर्चेर कमाको हुँ, आफैमा खर्चेर सकिदिन्छु । मलाई म हुन चाहिने जति हरेक दिन अलग दिन्छु । मनले जतिपटक माग्छ, म त्यतिनै पटक सब दिन्छु । म नै काम हुँ, म आफैलाई जागिर दिन्छु । म अमुल्य छु, म आफैले आफैलाई तलब दिन्छु । पैसा कमाउने नाममा, नामलाई चिनाउने पैसामा, म पक्कै लागेको छैन । अरु गरुन नगरुन तारिफ, म आफै गर्छु । म एउटा आवाज हुँ, आफैलाई म गीत दिन्छु । म आफैले अर्को म देख्छु, त्यहि मसँग म आफै आफैमा सुम्पिदिन्छु । सक्छौ ? खोस मबाट मेरो बाटो, खोस यो टेक्ने माटो, खोस मलाई मबाट तर तिम्रो प्रयास सबै सधै असफल । किन्न आऊ तिमी मलाई, म बेच्ने छैन तिमीलाई । यो जीवन मैले बाँच्नलाई पाएको हो, बेच्नलाई पाएको होइन ।

आजै अन्तिम सम्म बाच्छु म,

को अन्तिम सम्म अल्झी रहन्छ…. । 

एक्लै अब एक्लै रहेन , एक्लै ले संगी पाएको छ ।

हाम्रो माया अनि साथ पाएको छ ।

 

आजै रम्छु, आजै अन्तिमसम्म यात्रा गर्छु । जति छन्, जे छन्, सबै आज सकिदिन्छु । को अन्तिमसम्म अल्झिरहन्छ, आजै यात्रा सकिदिन्छु । यहाँ केही छुट्ने छैन, जहाँ म त्यही सब पुग्छ । नरोकौ कसैलाई जान दिउ स्वतन्त्र, सरर गगनमा विदाई दिउ सबैलाई । अब निदाईदिउ सधैलाई ।

 

 

Facebook Comments

यो पनि हेर्नुहोस