सुर ‘द मेलाेडी अफ लाइफ’ : एक समीक्षा 

‘सुर’ एक म्यूजिक टिचरकाे जुनून, अहंकार, क्षुधा, प्रायश्चित, समभाव र मायाकाे कथा हाे । यसमा एक म्यूजिक टिचरकाे चरित्रलाई यथार्थकाे धरातलमा चित्रण गर्ने काेशिश गरिएकाे छ । उनकाे भावनाहरुका विविध रङ र अभिव्यक्तिलाई पर्दामा उतार्ने काेशिश गरिएकाे छ ।

टिचर कुनै विशिष्ट मानव हैन। ऊ दाेषरहित र सबै कुरामा परफेक्ट हुदैन। अाममानिसहरुमा जस्तै ऊभित्र पनि गुण र दाेषहरु हुन्छन्। ऊभित्र पनि अहँकार, जलन र सर्वाेच्चताकाे भावना हुन्छ। ऊ दयावान मात्र हैन, निर्दयी पनि हुन सक्छ।पराेपकारी मात्र हैन, परपीडक पनि हुन सक्छ।

ऊ भित्र सृजनशीलता पनि हुन्छ र विध्वंसात्मकता पनि। ईर्ष्या र अहंकारमा बहकिएर ऊ विध्वंसक पनि हुन सक्छ तर उसमा एउटा विशेषता के हुन्छ भने ऊ छिट्टै ‘रियलाईज’ गर्छ। छिट्टै अाफ्ना गल्तीहरुलाई ‘रियलाइज’ गरेर त्यसलाई सच्याउने काेशिश गर्छ। विध्वंसलाई त्यागेर सृजनशीलतामा फर्किन्छ।

किनभने ऊ एक स्रष्टा हाे। सृजनशीलता उसकाे मूल चरित्र हाे।ऊ कलाकाे सृजना गर्छ, कलाकाे समाधि बनाउँदैन। उसकाे धर्म कलाकारलाई नामेट पार्नु हैन, कलाकारलाई निर्खानु हुन्छ। ऊ कला र कलाकारहरुकाे सृजना गर्छ। अनि, कला, कलाकार र सृजनाकाे महत्व स्रष्टाले भन्दा राम्राेसँग अरु कसैले पनि बुझ्न सक्दैन।

‘सुर’ले एक म्यूजिक टिचरकाे व्यक्तित्वकाे समग्र चित्रण त गर्छ नै, टिचर र स्टुडेंट बीचकाे भावनात्मक सम्बन्धकाे मार्मिक चित्रण पनि गर्दछ। भावनाहरुकाे उतारचढाव, अाराेह-अवराेहहरुले नै याे फिल्मलाई जीवन्त बनाउँछ।

‘सुर’मा म्यूजिक टिचरकाे चरित्रमा लकी अली एकदमै सुहाएका छन्। उनी अाफै पनि एक सुप्रसिद्ध गायक तथा संगीतकार हुन्, जसले गर्दा चरित्रकाे मर्मलाई बुझ्न उनलाई झन् सजिलाे भएकाे छ। याे सिनेमामार्फत् उनले अाफु एक अब्बल गायक तथा संगीतकारमात्र नभएर एक अब्बल अभिनेता पनि भएकाे सिद्ध गरेका छन्।

टिनाकाे चरित्रमा नवाेदित अभिनेत्री गा‌ैरी कर्णिककाे अभिनय पनि राम्राे छ। शुरुमा केही अाेभरएक्टिङ गरेजस्ताे लागे पनि अाेभरअल, राम्राे पर्फमेन्स दिएकी छिन्। फिल्ममा उनकाे चरित्रप्रति अति माया लागेर अाउँछ। टिनाकी दिदीकाे छाेटाे भुमिकामा दिव्या दत्ता पनि प्रभावित गर्छिन्।

‘सुर’काे निर्दैशन गरेकी छिन्, तनूजा चन्द्राले। यसअघि ‘विशेष फिल्म्स’का लागि ‘दुश्मन’, ‘संघर्ष’ र ‘ये जिन्दगी का सफर’ जस्ता अब्बल फिल्महरुकाे निर्दैशन गरेर अाफ्नाे निर्दैशकीय सामर्थ्यलाई सिद्ध गरिसकेकी चन्द्राकाे अब्बल निर्दैशनकाे बान्की ‘सुर’मा पनि देख्न सकिन्छ।

सिनेमा पूरै हेरिसकेपछि एक किसिमकाे जुन भावनात्मक सन्तुष्टि मिल्छ, त्यसले यस सिनेमालाई सार्थक बनाउँछ। यदि तपाईं हृदयकाे सुरलाई सुन्न सक्नुहुन्छ, भावनाहरुमा भिज्न सक्नुहुन्छ र जीवनकाे मेलाेडीलाई महसुस गर्न सक्नुहुन्छ भने याे फिल्म खास तपाईकै लागि हाे।

Facebook Comments

यो पनि हेर्नुहोस