‘एउटा कस्तो कस्तो प्रेमकहानी !’ (चलचित्र समीक्षा)

शिव श्रेष्ठको निर्माणमा बनेको चलचित्र ‘एउटा यस्तो प्रेमकहानी’ माघे संक्रान्तिबाट प्रदर्शनमा आएको थियो । यो फिल्मले दर्शकलाई पुनः हलतर्फ फर्काउनेमा सम्पुर्ण चलचित्रकर्मी विश्वस्त थिए ।

गत माघ १ गतेदेखि देशभर प्रदर्शनमा रहेको मल्टीस्टारर चलचित्र ‘एउटा यस्तो प्रेमकहानी’लाई दर्शकको खडेरी लागेको छ । ३५/४० वर्ष चलचित्र क्षेत्रको अनुभव बटुलेका शिव श्रेष्ठको कमजोर प्रस्तुती चलचित्रको ट्रेलरमै देख्न सकिन्छ। यो श्रेष्ठको आफ्नो करियर कै कमजोर प्रस्तुतीजस्तो लाग्छ मलाई । प्रदर्शन भएको ३\४ दिन बितिसक्दापनि पोस्टरको खर्चसमेत उठाउन सकेको छैन । यस चलचित्रको कहालीलाग्दो हाल भएको छ ।

मल्टीस्टारर राख्दैमा चलचित्र हिट हुन्छ भन्ने सोच बोकेकाहरुलाई यस चलचित्रले राम्ररी पाठ सिकाएको छ । यस अघिको महजोडी अभिनित चलचित्र ‘दाल भात तरकारी’को पनि यस्तै हालत थियो । महजोडी प्रतिको विश्वासले हलमा राम्रै चलेता पनि चलचित्रले दर्शकको त्यति राम्रो प्रतिक्रिया भने पाएको थिएन ।

 

चलचित्रको कथामा कथाको पात्रलाई राम्रोसँग परिभाषित गरिएको छैन । ‘टुवि कन्टिन्युड’मा सकिएको चलचित्रमा सोनाम, कान्छी र वरुणको विगतको उतारचडावमै चलचित्रले पर्दा बन्द गराउछ । हराएको सामग्रीमार्फत् सुरुवात गरिएको कथामा प्रमुख पात्र शक्ति र प्राप्तिको भेटघाटलाई देखाउने प्रयास गरिएको छ । भेटघाटकै क्रममा दुइबीचमा प्रेम फैलिन थाल्छ ।

मल्टीस्टारलाई जबरजस्ती हुलिएको चलचित्रमा पात्रले राम्रो स्थान पाएको छैन । भूमिकाहीन पात्रलाई कथा लम्ब्याउनकै निम्ति चलचित्रमा कोचिएको छ ।चलचित्रमा धेरै कलाकार राख्नकै निम्ति कथालाई अर्थहीन समेटिएको छ । अन्तिमसम्म हेर्दा पनि दर्शकले पात्रको भुमिका बुझ्न सकिरहेको छैनन् ।पात्रहरु एक अर्कासँग अन्तरसम्बन्धित छैनन् । दृश्यहरुको तालमेल पनि मिलेको छैन ।  दृश्यहरूको समिश्रणपनि नमिल्दा छन् । संवादको तालमेल पनि कतै मिलेको छैन । चाँडोचाडो फिल्म सक्याउने निहुले हतारमा निर्देशकले कथालाई नै अपुरो बनाईदिएका छन् । कथाले खास के भन्न खोजिरहेको हो दर्शकलाई केही अत्तोपत्तो छैन । चलचित्र हेरेपछि दर्शकले पुर्पुरोमा हात लगाईरहेका छन् ।

छायांकन नसकी हतारमा बनाएको चलचित्रको डबिङपनि राम्रोसंग सकिएको थिएन । चलचित्रको सबैभन्दा नराम्रो पक्ष चलचित्रमा भएको साउन्ड डबिङको हो ।धेरै दृश्यमा झर्को लाग्ने ध्वनीको प्रयोग गरिएको छ । लिप्सिङ नमिलेका दृश्य पनि फिल्ममा समावेश छन् । त्यसै त नमिलेको अभिनय झन् त्यहिमाथि लिप्सिङ नमिल्नुले चलचित्रलाई लाजमर्दो अवस्थामा पुर्याएको छ ।

चलचित्रमा वर्षा राउत, प्रियंका कार्की, संजोग कोइराला, आयुष्मान देशराज जोशी, मिथिला शर्मा, ध्रुव कोइरालालगायतका स्टार कलाकारहरुको अभिनय रहेको छ । त्यसै त चलचित्रको कथावस्तु राम्रो थिएन त्यहि माथि शिवले कथालाई परिवर्तन गरि स्टारकिडको इन्ट्री गराए । चलचित्रमा शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठ र नायिका करिश्मा मानन्धरकी छोरी कविता मानन्धरको डेब्यु देख्न सकिन्छ । यसै कारणले चलचित्र विवादमा पनि आएको थियो ।

सामान्य समयमा प्रदर्शन गरेको भए निर्देशकदेखि कलाकार सबैमा गालीको वर्षा छाउथ्यो । चलचित्र नचल्नुमा एउटा त राम्रो कथावस्तु थिएन त्येहीमाथि कोरोनको महाकाल अनि कसरी चलोस् चलचित्र ?

लकडाउनपछि चलचित्र प्रदर्शन हुने भएपछि हलवालालाई केही उर्जा थपिदिएको थियो । तर यस्तो हालत देखेर हलवालाको के हाल होला म अलमलमा छु ।

 

निर्माण टिमको यो हतारोले प्रेमको कस्तो मोल देखाएको छ त्यो त चलचित्र हेर्नेलाई थाहा भैहाल्छ । फलस्वरूप चलचित्र कस्तो कस्तो कहानीमा परिणत हुन पुगेको छ ।

Facebook Comments

यो पनि हेर्नुहोस