‘प्रकास सपुतको पागलपन-हद’ : ‘फुटेको चुरा’

प्रकास सपुतले ‘दोहोरी ब्याटल’ ल्याउँदा मानिसहरुले उनलाई खेदे । खेद्नेहरुमा सर्वसाधारणदेखि स्वयम् लोकदोहोरीमा लागेका मानिसहरु पहिलो पंक्तिमा देखिए । प्रकासले ‘लोकदोहोरीको हुर्मत’ लिएको, ‘लोकदोहोरीमा लागेका मान्छेको खोइरो-खेदो गरेको’, नेपाली लोक र दोहोरी गीतको ‘मौलिकपनमाथि जाइलागेको’ आदि यस्तै अनेकथरी आरोप लगाएर निमोठ्न खोजे । मानिसहरुले यतिसम्म खेदो गरे कि प्रकास ‘दोहोरी ब्याटल’ संसोधन गर्न बाध्य भए । ति सवै र सवैका बिरुद्द उनी सहनशील भएर डटिरने, लडीरहे, संघर्ष गरिरहे । ‘दोहोरी ब्याटल’मा आधुनिक पुस्तालाई लछप्पै भिजाएबापत युवाहरुले उनलाई मनमा सजाएकै थिए, भलै उनले माथि उल्लेखित मानिसहरुबाट अपमानित हुनु परेको थियो । उनले आफुलाई लागेका तमाम् आरोपको खण्डन मुखले गरेनन् । साम, दाम र दण्डले गरेनन्; सिर्जनाले गरिदिए ।

 

 

त्यो सिर्जना थियो ‘बोल माया’ । ‘बोल माया’ आएपछि प्रकासले केही बोल्नै परेन । यसैले बोल्नु पर्नेजत्ति बोलिदियो । यतिसम्म बोलिदियो कि यसअघि यसकिसिमको ‘गीति-संसार’ अन्य कुनै लोक वा दोहोरीमा कथिएको थिएन । करिब १९ मिनेट लामो गीतका शब्द र त्यसको भिडियोले मनलाई, आँखालाई बिझाएन, बरु मन बुझायो, आँखा भिजायो । कहाँ ‘दोहोरी ब्याटल’ गाएर हिँडेको ठिटो, कहाँ ‘बोल माया’ गाएको युवा । प्रकासको छवि, उनको गायकी, शब्द र भिडियो सिर्जना, लय र कथाको ओजन, यि सवै एकैपटक शिखर चढे । प्रकासलाई कम आँक्नेहरु उनको सिर्जनशीलता देखेर अवाक् भए । हिजो खेद्नेहरु सायद यसपछि आफु निचो भएको महशुस गर्दाभए । बचनले भन्दा कर्मले दिएको जवाफ चित्तमा लाग्छ । खेद्नेहरुको चित्तमा यसपटक नराम्ररी लागेको हुनुपर्छ । ‘बोल माया’ पछि खेदाइ मथ्थर हुँदै गयो ।

 

प्रकासले यसपछि ‘दोहोरी ब्याटल २’ लिएर आए । प्रिती आलेसँगको जोडधडाक प्रस्तुतिले अघि आएको ‘दोहोरी ब्याटल’ले जग बनाएकै थियो । अव घर बनायो । युवा पुस्ताको मनमा प्रकास र प्रितीले जरा गाडे । यसपटक पनि पुरानै खेद्नेहरुले खेद्ने कोसिस भने जारी राखे । तर अत्यधिक युवा पुस्ताले मनमा सजेको गीतका गायकलाई डेग सार्न कसैले सकेन । फलस्वरुप ‘दोहोरी ब्याटल २’ ले अर्को इतिहास बनायो । प्रकासले आफुलाई यि दुईवटै विधामा अब्बल सावित गरे । यदाकदा खेद्नेहरु नदेखिएका भने होइनन् । तर तिनको केही फुर्ती चलेन । कुकुर भुक्दै गयो तर हात्ती लम्किँनै रह्यो ।

 

 

त्यसपछि प्रकासले ल्याए बहुचर्चित गीत ‘गलबन्दी’ । ‘गलबन्दी’ फगत एउटा लोकदोहोरी गीत मात्रै थिएन । यो एउटा ट्रेण्डसेटर गीत थियो । यसले आजीवन लोकदोहोरी नसुनेका, सुन्न मन नगरेका, सुन्न मन मरेका, नेपाली गीत भनेपछि नाक र मन खुम्च्याउने लाखौँ मानिसलाई हेर्न बाध्य पारेको इतिहास बनायो । प्रकास सपुतका रुपमा नेपाली लोकसङ्गीतक्षेत्र कायापलट गर्ने गायक, भिजनेवल स्टोरीटेलर पायो । कुनै बेलाको खेम राज गुरुङकृत ‘वारि जमुना पारि जमुना’ जस्तै ‘गलबन्दी’ले बच्चादेखि प्रौडसम्मको मन जित्यो । शब्दसँगै यस्को भिडियोले मन जित्यो । धेरै गीतहरुमा अभिनय गरेर पनि खासै ठूलो चर्चा नकमाएकी ‘अन्जली अधिकारी’लाई ‘नेशनल क्रस’ बनायो । प्रकासलाई लोकदोहोरीको सर्वप्रिय गायक, सङ्गीतकार, अभिनेता, निर्देशक बनायो ।

 

तर यसपटक प्रकासलाई पूर्वीय लोकदोहोरीका बादशाह मध्येका एक शम्भु राईले आफ्नो निकै पुरानो गीत ‘आऊ नाचौँ साथीहो’ को लय कपी गरेको गम्भीर आरोप लाए । प्रतिलिपि अधिकार रजिष्टारको कार्यालयमा प्रकास सपुतले आफ्नो बौदिक सम्पत्तिको चोरी गरेको आरोप शम्भुले लगाए । अन्तराष्ट्रिय कपीराइटको मापदण्ड हेर्ने हो भने हुबहु ८ बार मिलेकोलाई मात्रै मिलेको भन्ने मानिन्छ तर प्रकास र शम्भुको गीतमा ४ देखि ६ बार मात्रै मिल्ने नोटेशन विज्ञहरुले पछि मुद्दा किनारा लागेपछि बाहिर ल्याए । तर यसअघि नै शम्भु राईले लगाएको आरोपबाट आजित भएका प्रकासले ‘अग्रजको सम्मान खातिर’ आफुले मिल्न गएको स्विकार गरे र मुद्दा छिनोफानो गरे । ‘शम्भु राई पहिलो सर्जक’ र ‘प्रकास सपुत रिक्रिएटर’ हुनेगरी कुरा मिलाएर मुद्दाको रफादफा भयो । नयाँ पुस्ताले बिर्सिंदै गएता पनि ‘लिजेन्ड’ भैसकेका अग्रज स्रष्टाले नवआगन्तुक प्रकासजस्ता प्रतिभालाई हौसलाको साटो अनावस्यक झिंझलो गर्नु नसुहाउने थियो । तर शम्भु राईजस्ता ख्याती कमाएका सर्जकले त्यसो गर्दा आम जनमानसमा उनी प्रतिको भावना निरस भएर गयो । प्रकासले पनि अनाहकमा सिर्जना चोरी गर्ने गरेको भनेर आलोचना खेप्न पर्यो । तर यत्ति हुँदा पनि प्रकास थाकेनन्, गलेनन् । बरु उनले ‘बदला बरिलै’ ल्याएर आफु लामो रेसको घोडा भएको प्रमाणित गरिदिए ।

 

समाजको बढो मानिने पात्रले कसरी सिमान्कृत महिलाहरुमाथि शारीरिक शोषण गरिरहेको छ ? र त्यसको प्रतिकार कसरी भएको छ ? त्यस कथामाथि आधारित रहेर प्रकासले बनाएको ‘बदला बरिलै’ले केकीको मात्रै साख बढाएन, प्रकास लरतरो ढंगले आएका होइनन् भन्ने प्रमाणित गरिदियो । खेद्नेहरुले यस गीत र यस्को भिडियोलाई पनि खेदे । तर असल सिर्जनाको अकालो भविष्य रोक्न कोही सफल भएनन् । प्रकास यसपटक पनि अब्बल सावित भए । यसपटक पनि उनले बोल्नै परेन, ‘बदला बरिलै’ नै बोल्यो । यसबीचमा उनी र केकी ‘अनार चामल’ को ब्राण्ड एम्बेसडर भए । यस्तै अन्य ब्रान्डको पनि उनले प्रतिनिधित्व गरे । अव उनले बुझिसकेका छन् कि बोलीले होइन, जवाफ कर्मले दिने हो ।

 

यसपटक त उनले ‘फुटेको चुरा’ मार्फत् आफ्नो गीत, सङ्गीत र भिडियो मेकिंगको ‘म्याडनेस’ प्रस्तुत गरेका छन् । १४ मिनेट लामो भिडियोमा कतै पनि ‘बोर’ लाग्न नदिनु प्रकासको खुबी मान्नुपर्छ । उनी लोकदोहोरी गाउन मात्रै आएका होइनन्, सिर्जनाको पराकाष्ठा गर्न आएका हुन् । इतिहास बनाउन आएका हुन् । एउटा गीतको भिडियोमा ज्यान भर्नु र त्यसलाई सस्पेन्समा राख्न सक्नु चानचुने कुरो हुँदै हैन । अनिता चलाउनेसँगको सहकार्यमा आएको ‘फुटेको चुरा’ प्रकास सपुतको शब्द, लय र भिडियोको पागलपन-हद हो । हद नै हो ।

 

Facebook Comments

यो पनि हेर्नुहोस