गीत समीक्षा – प्रमोद खरेलले देखाइदिए ‘छाती चिरेर’

युवापुस्ताले सर्वाधिक रुचाएका गायक प्रमोद खरेलले नयाँ गीत ‘छाती चिरेर’को भिडियो सार्वजनिक गरेका छन् । खरेलले आफ्नै युट्युब च्यानलमार्फत् गीतको भिडियो सार्वजनिक गरेका हुन् ।

 

उक्त गीतमा लोकप्रिय सङ्गीतकार हरि लम्सालले सङ्गीत सिर्जना गरेका हुन् भने शब्द गायक प्रमोदकै रहेको छ । पहिलोपटक आफ्नै शब्दमा स्वर भरेका खरेलले प्रस्तुत गीतमा आफ्नो गायकी ‘छाती चिरेर’ देखाएका छन् ।

‘भद्रगोल’ हाँस्य टेलीचलचित्रमार्फत् ‘काकु’को क्यारेक्टरले चिनिएका दीपक प्रसाद आचार्यले भिडियो निर्देशन गरेका हुन् । आचार्यले सुरुमै भन्दिएका छन् कि यो ‘फगत म्युजिक भिडियो’ नभएर ‘सिङ्गो म्युजिकल फिल्म’ हो । त्यसउसले गर्दा दर्शकलाई लागिजान्छ कि यो एउटा दरिलो कथा बोकेको ‘सांगीतिक चलचित्र’ हो । उहिले आलोक नेम्बांगले यस्ता कथा जोडेका भिडियो बनाउँथे । त्यसलाई पछिल्लो समय निकेश खड्का, युवराज वाइबा, लक्ष्मी बर्देवा-जीवन भट्टराई, प्रकास सपुत र नबिन चौहानले धान्दै धान्दै ल्याए । नबिन चौहानको ‘तीनपाते’ले त ‘स्थानीय उत्पादन’लाई अन्तराष्ट्रियकरण गर्ने काम समेत गरे । यो लहरको अन्तिम किनारमा आएर दह्रो खुट्टा टेकेका छन् निर्देशक दीपक आचार्यले ‘छाती चिरेर’मार्फत् ।

आचार्यले दृश्यलाई यति ‘सस्पेन्स’ले बाँधेका छन् कि सायदै कुनै दर्शकले एकपटकको हेराइमा कथा बुझोस् । कथाको प्लट नबुझेर दर्शक अर्कोपटक हेर्छ । जतिपटक हेर्छ, उतिपटक बुझ्दैन । नबुझेपछि दर्शकको मथिंगलमा भिडियोको कथा बुझ्ने हुटहुटीले हान्छ । यही हनाइ नै दीपकको शक्ति हो । म चाहन्छु निर्देशक, गायक वा टिमका अन्य कसैले यसको कथा साझा नगरुन् । किनकी दर्शकले आफ्नै बलबुताले निर्देशकको दृश्य-भाषा बुझोस् ।

 

म थोरै भनिदिन्छु । प्रमोदले स्वयम् अभिनय गरेको यो भिडियोमा उनी कुनै अफिसका हाकिम लाग्छन् । ऋचा शर्मा सोही अफिसमा काम गर्छिन् । एउटै छाता ओढेपछि ‘कुम’ ठोकिन्छ । प्रमोद र ऋचाको प्रेम अंकुरण हुन्छ । प्रेमले झ्याँगिदै ‘विवाह’को रुप लिन्छ । अव उनीहरु ‘प्रणय-पथ’मा सवार हुन्छन् । जन्मदिनको केक नकाटी नै एउटा भयङ्कर घटना घट्छ । त्यो घटना के हो ? के थियो ? त्यसपछि के हुन्छ ? किन अघिल्ला दृश्यहरुमा प्रमोदलाई ह्विलचियरमा देखाइन्छ ? अन्तिम दृश्य किन त्यसो हृदयविदारक लाग्छ ? भन्ने जान्न गीत हेर्नुपर्छ । तर गीत हेर्दा नबुझ्न सकिन्छ भन्ने हेक्का राख्नुहोला ।

 

मैले निर्देशकको खुबीबारे माथि बताइसकेको छु । अव म अघिलाग्छु शब्दबाट ।

प्रमोद खरेल देश-परदेशमा अत्यधिक रुचाइएका गायकमध्येमा पर्छन् । कोरोना कहर नहुँदो हो त उनी कुनै दूरदेशमा आफ्नो सांगीतिक प्रस्तुतिले दर्शक-श्रोतालाई आल्हादित गराउँदै हुन्थे । खाडीमा ‘सुल्तानको तमाखु’ भरेर लखतरान भएको दीनहीन श्रमिक खरेलको कन्सर्टमा गीत सुनेर मनमा मलम लगाउँदो हुन्थ्यो । नेपालगंजको उखुमै गर्मीमा दिनभर ठेला चलाएर हायलकायल भएको कुनै रामबहादुर साँझमा खरेलको गायकी प्रतक्ष्य सुनेर ‘गम भुलाउँदो’ हो । खैर छोडौँ यि कुरा । म शब्दको कुरो गर्दैथिएँ ।

 

खरेलले रचना गरेको यो गीत कुनै सिद्हस्त गीतकारको ‘शब्द-शिल्प’ लाग्छ । यो गीत सुनेपछि मलाई लागिरहेको छ कि खरेल बर्षौँदेखि गीत लेखेर कुनै बनामे डायरीमा गीतको हत्या गरिरहेका छन् । सायद उनले यतिञ्जेल यही सोचेर आफ्नो गीत ल्याएनन् कि उनलाई अरुहरुकै गीत गाउन भ्याइ नभ्याइ थियो वा थिएन आफ्नो रचनामा बिश्वास । तर उनी यो गीतबाट राम्रो गीतकारको उपस्थिति जनाउन सफल लाग्छन् । उनको गायकी यो गीतमा अब्बल सुनिन्छ ।

 

हरि लम्सालको सङ्गीतकर्ममा शब्द छनौटको आफ्नै ‘लय’ छ । उनी ‘भुइँ मान्छे’का बिषय शब्दमा खोज्छन् । उनका ‘पानीको फोका’ होस् वा होस् ‘हाँस भन हाँसी दिन्छु’, ‘डर छैन’ होस् वा होस् ‘माफ गर है निर्मला’ यि सवै गीतमा लम्सालले सिमान्तकृतका मुद्दा उठाएका छन् । दु:खीका घाउमा मलम लगाएका छन् । र छन् सधैँ प्रतिपक्षका पक्षमा उभिएका । लम्सालले यस गीतको लयमा बिछोडको गहिरो अनिश्चितता खानेका छन् ।  अनन्त पिडा पोखेका छन् र सिर्जना गरेकाछन् स्तब्ध बनाउने वातावरण ।

रिकेश गुरुङले हरि लम्सालको लयको साख उकालो चढाउँन एरेन्जमा गरेको मेहनत गीतमा देखिन्छ । उनले यो लामो गीतलाई सुनिरहन प्रेरित गरिरहने गरि सङ्गीत संयोजन गरेका छन् । उनको कामले कानलाई खाँदैन, सुनिरहन सुझाउँछ । अकोष्टिक स्टुडियोको रेकर्डिंग काम अब्बल लाग्छ । प्रकाश मिश्रले गीतको मिक्सिंगमा ध्यान खिचेका छन् ।

 

निर्देशक आचार्यको कथालाई साकार पार्न छायाँकार अर्जुन तिवारी र उनको टिमले पसिना बगाएको भिडियोका दृश्यले प्रमाणित गर्छन् । ड्रोनमा सुरेश काफ्लेले आफुलाई साबित गरेका छन् । प्रमोद र ऋचालाई सुन्दर देखाउन ज्योति लिम्बु र ‘तेन्जु एण्ड बिबेश कलेक्शन’ले कुनै कसर बाँकी राखेका छैनन् ।

 

ऋचा शर्मा र प्रमोद खरेलको अभिनय भिडियोको कथानुसार अब्बल लाग्छ । ‘सुनकेशरी’ र ‘कमेडी च्याम्पियन’बाट किस्सा सकिएपछि ऋचाले आफुलाई जीवन्त प्रस्तुत गरेको यो उनको अभिनय यात्राको एक अविष्मरणीय ‘अदाकारी’ हो । ऋचाले आफु अझै अभिनयमा गाइते बघिनी हुँ भन्ने सावित गरेकी छिन् । यसले उनमा रहेको अभिनय क्षमता उजागर गरेको छ । यस्तो लाग्छ उनले निभाउन सक्ने ‘कठिनाठीन’ भूमिका लेखिएकै छैन । यो एउटै भिडियोको प्रस्तुतिबाट ऋचाले दैनन्दिन गीतमा अभिनय गर्ने धेरै कलाकारलाई कोशौं टाढा छोडेकी छिन् । उनलाई भेट्न हरकोहीलाई गाह्रो, गाह्रो र गाह्रो छ । प्रमोदले त उसैपनि धेरै गीतमा अभिनय गरेका हुन् । उनमा माझिएको कलाकारिता देखिन्छ ।

 

ट्रेन्डीङमा जानु, नजानुले खासै अर्थ नराख्ने मलाई यो गीतको शब्द, सङ्गीत, स्वर, एरेन्ज, भिडियो आदि सवैले छोएको छ । नजाने अझै कतिपटक हेरेपछि मेरो चित्त बुझ्छ ।

 

Facebook Comments

यो पनि हेर्नुहोस