सङ्गीतकार लक्ष्मण शेषको यस्तो अभियान

सङ्गीतकार लक्ष्मण शेषले श्रष्टाको च्यानल सब्स्क्राइब गर्ने अभियान सुरु गरेका छन् । उनले यो अभियानको थालनी सामाजिक सञ्जाल मार्फत् सुरु गरेका हुन् ।

‘रोयल्टी’को बिषयलाई चर्को आवाजमा उठाउँदै आएका शेषले सामाजिक सञ्जालमा गायिका तथा सङ्गीतकार शशी रावलको युट्युब च्यानलको लिंक सेयर गर्दै लेखे, ‘शशी रावल गायिका मात्रै होइनन्, कुशल सङ्गीतकार पनि हुन् । उनले बेला बेलामा राम्रा सिर्जना लिएर आउने गरेकी छन् । त्यसैले उनको च्यानललाई सब्स्क्राइब गरेँ ।’

त्यस्तै उनले गायक शान्तिम कोइरालाको ‘मानवता’, ओम सुनार र मिलन रोकायाको ‘राईझुमा’, कस्तुप पन्तको ‘प्रताडित’ आदि गीतको लिंक सेयर गर्दै अभियानमा जुट्न आग्रह गरेका छन् ।

कसैले कसैको च्यानललाई सब्स्क्राइब गर्नु सामान्य कुरा हो, तर महङ्गो म्युजिक भिडियो, महंगा कलाकार, ट्रेन्डिङ, ‘बुष्टिंग’ र ‘स्पोंसर्ड’को महंगाइ र चपेटामा परेको सङ्गीत क्षेत्रलाई ट्रयाकमा ल्याउन यो अभियान थालेको शेषको भनाइ छ ।  स्तरहिन गीतले स्तरीय गीतलाई पाखा लगाएको, जीवन्त गीतले भ्यूज नपाएको, बेसुरा गायक-गायिकाको बाहुल्यता बढेको, सङ्गीत माफियाहरुको रजगज बढेको र श्रष्टाहरु अरुको छातामूनी कतिञ्जेल रहने भनेर चिन्ता व्यक्त गर्दै शेषले यो अभियानको थालनी गरेका हुन् ।

शेषको यो अभियानमा अहिलेसम्म सयौँ श्रष्टाले सहभागिता जनाएका छन् । सहभागीहरुले आफ्नो युट्युब लिंक दिने र श्रष्टाको लिंक खोलेर एकार्कामा जोडिएका छन् । चलचित्र खबरसँगको कुराकानीमा शेषले आफ्नो अभियानले लामो दुरी लिने आशा ब्यक्त गर्दै भने, ‘थाहा छैन यो अभियानले कति प्रभाव पार्छ, तर सवैले यो अभियानलाई आत्मसात गरे बहुसंख्यक श्रष्टाको स्वआर्जनको बाटो फराकिलो भएर जान्छ ।’

Facebook Comments

यो पनि हेर्नुहोस