गुञ्जन सक्सेना ‘द कार्गिल गर्ल’ : औसतभन्दा माथिको चलचित्र

जान्वी कपुरको नयाँ चलचित्र ‘गुञ्जन सक्सेना’प्रति धेरैको चासो थियो । श्रीदेवीकी छोरी अर्थात् स्टार किड जान्वीको मुख्य भूमिका रहेको दोस्रो चलचित्र हो यो । सुशान्त सिंह राजपूतको आत्महत्यापछि बलिउडमा नेपोटिज्मको मुद्दा फेरि चर्किरहेको छ र निर्माता करण जौहरलाई सधैं स्टार किड लिएर चलचित्र बनाउने गरेको आरोप लागेको छ ।

 

जान्वीको पहिलो चलचित्र ‘धडक’ र ‘गुञ्जन सक्सेना’ दुवैको निर्माता करण जौहर नै हुन् । त्यसैले नेपोटिज्मको विरोध गर्नेहरुको मुख बन्द गरिदिनका लागि जान्वीले आफूलाई साँच्चिकै प्रतिभाशाली अभिनेत्रीका रुपमा प्रमाणित गर्नुपर्ने चुनौती छ । त्यसैले ‘गुञ्जन सक्सेना’मा जान्वीको काम कस्तो छ भन्नेमा धेरैलाई चासो थियो ।

 

त्यतिबेला महिलाका लागि असम्भव झैं मानिन्थ्यो भारतीय आर्मीको पाइलट बन्नु । गुञ्जन भन्ने एक युवतीमा त्यही असम्भव सपना पलाउँछ र, ऊ त्यसलाई यथार्थमा परिणत गर्न मिहेनत र संघर्ष गर्छे । त्यही संघर्षको कथा ‘गुञ्जन सक्सेना’मा हेर्न पाइन्छ ।

 

शरण शर्माद्वारा निर्देशित ‘गुञ्जन सक्सेना’मा सन् १९९९ को कार्गिल युद्धमा एकमात्र महिला पाइलट गुञ्जन सक्सेनाले कसरी बहादुरीका साथ घाइते भारतीय सैनिकहरुको उद्धार गरिन् भन्ने कथा देखाइएको छ ।
भारत र पाकिस्तानबीचको युद्धमा आधारित चलचित्र भए पनि यसमा अरु हिन्दी चलचित्रमा जस्तो पाकिस्तानविरुद्ध अनावश्यक विष बमन गरिएको छैन । न त नाटकीय देशभक्ति नै पस्किएको छ । यसमा सैनिकको संघर्षलाई निष्पक्ष प्रस्तुत गरिएको छ ।

 

कोभिड–१९ का कारण हलहरु बन्द भएकाले निर्माताहरु यो चलचित्रलाई यसै हप्ता अनलाइन प्लेटफार्ममा रिलिज गर्न बाध्य भएको हो । चलचित्रका पछिल्ला दृश्यहरु मोबाइल, ल्यापटप वा टिभीको स्क्रिनभन्दा पनि हलका ठूला पर्दामा हेर्दा आनन्द आउने खालका छन् । दर्शकलाई हलको सम्झना भइरहन्छ ।

 

गुञ्जनको भूमिका जान्वीले निर्वाह गरेकी छिन् । जान्वीलाई त्यो भूमिका सुहाएको पनि छ । उनको कोमलता, अनुहार र शरीर गुञ्जन भन्ने पात्रका लागि फिट देखिएको छ । उमेर कलिलो भए पनि अभिनयमा उनले आफूलाई परिपक्व साबित गरेकी छिन् ।

 

‘धडक’बाट कमाएको विश्वासलाई उनले यसमा गुम्न दिएकी छैनन् । सबै स्टार किडले मन जित्न सकेका छैनन् । तर, जान्वीले मन जितिरहने निश्चित छ । उनले आफू स्वयं नै योग्य रहेको प्रमाणित गर्ने दिशामै अग्रसर रहेको यो ‘गुञ्जन सक्सेना’ चलचित्रले पुष्टि गर्छ ।

 

जान्वीपछि चलचित्रमा बुवाको भूमिका निर्वाह गर्ने अभिनेता पंकज त्रिपाठीको काम मनमोहक छ । बुवा पात्रको कथामा विशेष योगदान पनि छ । साथसाथै त्यो पात्रलाई पर्दामा जीवित उतार्न त्रिपाठीको अभिनयले धेरै साथ दिएको छ ।

छोरीलाई घरधन्दामै सीमित गर्ने मानसिकता हिजो पनि हावी थियो, आज पनि हावी छ । त्यो मानसिकतालाई गतिलो झापड हान्छ यो चलचित्रले। र, छोरी मान्छेले आँटेमा र मिहेनत गरेमा जस्तोसुकै लक्ष्य पनि छुनसक्ने देखाउन सफल छ यो चलचित्र ।

 

अनावश्यक मेलोड्रामा र चटपटे मसलाबाट मुक्त छ चलचित्र । एउटी युवतीको सफलताको बायोपिक भएकोले चलचित्रको कथा अनुमान अनुसार नै अघि बढ्छ र टुंगिन्छ । तर, सुन्दर अभिनय र सुक्ष्म संवेदनाहरुले चलचित्रलाई बचाएको छ ।

 

महिलाले सफलता हात पार्दा पुरुषको अहम् भावनामा ठेस पुग्ने र त्यसको डरले महिलालाई भेदभावपूर्ण व्यवहार गरेर माथि उठ्न नदिने प्रयास हुनसक्छ भन्ने पनि चलचित्रमा देखाइएको छ । तर, गुञ्जन पुरुषको यस्तो संकीर्णतालाई चिर्न सफल हुन्छे ।

 

छोरी मान्छेले स्वतन्त्रता हासिल गर्न सबैभन्दा पहिला घरमै लडाइँ गर्नुपर्छ र त्यसपछि समाजसँग । जेहोस् छोरी मान्छेलाई आफूमाथि लगाइएको साङ्लो तोड्न सजिलो छैन । ‘गुञ्जन सक्सेना’ चलचित्रको भाव यही हो । यसका लागि निर्देशक तथा लेखकले यथार्थ घटनालाई केही तोडमोड पनि गरेका छन् ।
लकडाउनको समयलाई सदुपयोग गर्ने हो भने यो चलचित्र हेर्न सकिन्छ । समयको सदुपयोगमात्र होइन हाम्रो संकुचित धारणालाई केही हदसम्म झक्झक्याउने काम पनि गर्छ । त्यसैले ‘गुञ्जन सक्सेना’ औसतभन्दा माथिको चलचित्र हो ।

Facebook Comments

यो पनि हेर्नुहोस